
विराटनगर,०३ असार । नेपाल पत्रकार महासंघ कोसीले सरकारी विज्ञापन वितरणमा स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक रूपमा समेट्न माग गरेको छ।
महासंघ कोसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएको हो। उनीहरूले संघीय सरकारले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा रोक लगाउने निर्णयले स्थानीय तथा स्वरोजगारमुखी सञ्चार संस्थाहरू गम्भीर संकटमा परेको बताएका छन्।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरे।
त्यसैगरी महासंघ कोसीका अध्यक्षभरत खड्काले प्रदेशस्तरका विज्ञापन प्रदेशभित्रकै सञ्चारमाध्यमलाई दिनुपर्ने बताए। उनले प्रदेश सञ्चार प्रतिष्ठान छिट्टै गठन गरी सञ्चार क्षेत्रका समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
धर्नापछि महासंघले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सञ्चारमाध्यम र पत्रकारका समस्या समाधानमा प्रदेश सरकारको सक्रिय भूमिका माग गरेको छ।
मुख्यमन्त्री कार्कीले पत्रकारका मागप्रति सरकार गम्भीर रहेको र समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।
महासंघले स्थानीय सञ्चारमाध्यमलाई संरक्षण र प्रवर्द्धन नगरे लोकतान्त्रिक सूचना प्रणाली कमजोर हुने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया