श्रेणी : BANNER
वीरगंज (पर्सा), २७ साउन । वीरगञ्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच सम्पन्न भएको छ। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुदको प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा प्रसाद कानुको नेतृत्वमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोपैक, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम तथा लियो क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।
वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिता घण्टाघरबाट सुरु भएको थियो। रेल्वेरोड हुँदै अमर चौक पुगेका धावकहरू पुनः घण्टाघरमै फर्किएर दौड पूरा गरेका थिए। सहभागीहरूले उत्साह, जोश र प्रतिस्पर्धात्मक भावनाका साथ दौडमा सहभागिता जनाउँदै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथनजस्ता कार्यक्रमले युवालाई खेलकुद र सकारात्मक गतिविधितर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता गतिविधिबाट स्वस्थ जीवनशैलीको विकास हुनुका साथै युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्न सकिने धारणा राख्नुभयो। रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवासँगै स्वास्थ्य, युवा र खेलकुदका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको बताउनुभयो। म्याराथनले स्वास्थ्यप्रति जनचेतना बढाउनुका साथै युवामा अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा वक्ताहरूले नियमित व्यायाम तथा शारीरिक सक्रियता स्वस्थ जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवालाई खेलकुद र सामाजिक गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए। म्याराथनजस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना विस्तार गर्नुका साथै युवालाई सकारात्मक तथा रचनात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने उनीहरूको भनाइ थियो।
प्रतियोगिताको पुरुषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम भएका छन्। बिपिएस कलेजका विक्की कुमार यादव द्वितीय तथा सोही कलेजका अर्जुन कुमार तृतीय भए।
महिलातर्फ बिपिएस कलेजकी उमा कुमारी शर्मा प्रथम, हरिखेतान कलेजकी पुष्पा कुमारी गुप्ता द्वितीय र सोही कलेजकी आशा कुमारी साह तृतीय हुन सफल भए।
उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा सहभागी धावकहरूले कार्यक्रम उत्साहजनक र प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका थिए।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूटिभ चिफद्वय लायन आश्मा सिंह यादव र लायन विजय गुप्ता, एरिया चिफ लायन सुनिल कुमार गुप्ता, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुशीला साह, क्याबिनेट अफिसरद्वय लायन रितिका जैसवाल र लायन पीयूष दारूका, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल तथा जनपद प्रहरीका प्रहरी निरीक्षक पदम पाण्डेलगायतको उपस्थिति थियो।
त्यसैगरी, लायन्स क्लबका पदाधिकारी तथा सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
उत्साहपूर्ण सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न प्रतियोगिताले वीरगञ्जमा खेलकुद र सामाजिक सेवाप्रति सकारात्मक वातावरण निर्माण गर्दै ‘स्वस्थ समाज, सक्रिय युवा र सामाजिक सेवा’को सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।


प्रतिक्रिया