वीरगन्ज,१७ साउन । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगन्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।
एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा भएको कार्यक्रममा वीरगन्ज, सिमरा र कलैया क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चलचित्रमार्फत लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको थियो।
चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले युवापुस्तालाई लागूऔषधको दुष्परिणामबारे सचेत बनाउन यस्ता जनचेतनामूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे। उनीहरूले विद्यालय तहमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन अहिले समाजको गम्भीर समस्याका रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक र समुदायले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले ‘सरी मम’ जस्ता चलचित्रले विद्यार्थी र युवामा सकारात्मक सोच तथा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै नैतिक शिक्षा र जीवनोपयोगी सचेतनासमेत आवश्यक रहेको बताउँदै विद्यालयहरूले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।
चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनका लागि मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको बताए। उनका अनुसार चलचित्रले लागूऔषधको कुलतमा फसेका युवाको पीडा, त्यसले परिवारमा पार्ने असर र त्यसबाट बच्नुपर्ने सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ। उनले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता विशेष प्रदर्शनलाई निरन्तरता दिइने जानकारी दिए।

प्रतिक्रिया