वीरगन्ज :

बजेट निर्माणमा विवाद चुलिँदा पर्साका अधिकांश पालिका अन्योलमा

श्रेणी : अर्थ

53 minutes
Pradeep Sah
2.7kViews
1221 Shares

वीरगन्ज,०२ असार । पर्सा जिल्लाका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रक्रिया अन्योलमा परेको छ।

विशेषगरी धोबिनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पक्षबीच सहमति नजुट्दा सोमबार बोलाइएको गाउँसभा बैठक बस्नै सकेन।

गाउँपालिका अध्यक्ष मदन चौहान बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा रहेका बेला उपाध्यक्ष मञ्जु देवी कुर्मी पक्षले बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको स्रोतले जनाएको छ। उपाध्यक्षका श्रीमान् श्याम पटेलले १८ जना गाउँसभा सदस्यको हस्ताक्षरसहित बहुमत आफूहरूसँग रहेको दाबी गरेका थिए।

विवाद चर्किएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णा खतिवडा कार्यालय नआएपछि बैठक नै सञ्चालन हुन नसकेको बताइएको छ। अब बैठक कहिले बस्ने भन्ने विषयमा अन्योल कायम छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नीति, कार्यक्रम तथा बजेट पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि पर्साका अधिकांश पालिकामा प्रक्रिया अघि बढ्न सकेको छैन।

हालसम्म जिल्लाका १४ स्थानीय तहमध्ये कुनै पनि पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन्। यद्यपि जगरनाथपुर, जिराभवानी र कालिकामाई गाउँपालिकाले भने नीति तथा कार्यक्रम पारित गरिसकेको जनाइएको छ।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन्। अधिकांश पालिकामा देखिएको राजनीतिक विवादले विकास योजना र बजेट प्रक्रियामा प्रत्यक्ष असर पारिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *