वीरगन्ज :

चिनी कारखाना पुनः सञ्चालनका लागि रुसले थाल्यो तयारी

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.8kViews
1702 Shares

बीरगन्ज,०३ असार । नेपाल–रुस सम्बन्ध विस्तारका क्रममा रुसी महासंघले बन्द अवस्थामा रहेका नेपाली औद्योगिक प्रतिष्ठानहरू पुनः सञ्चालनयोग्य बनाउन सहयोग गर्न सक्ने संकेत दिएको छ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभ बीच बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव र सूची प्राप्त भएमा वीरगञ्ज चिनी कारखाना तथा जनकपुर चुरोट कारखानालगायतका बन्द औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको बताएका थिए। वीरगञ्ज चिनी कारखाना करिब दुई दशकदेखि बन्द अवस्थामा रहेको छ।

उनले नेपालसँग जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारका क्षेत्रमा समेत सहकार्य विस्तार गर्न रुस इच्छुक रहेको जानकारी दिए।

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–रुस सम्बन्ध मैत्रीपूर्ण र सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

उनले यस वर्ष नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव पूरा हुने प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए।

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *