वीरगन्ज :

गरिमा हत्या प्रकरणमा तीन बुँदे सहमति, खुल्यो वीरगन्ज–पथलैया सडक

श्रेणी : BANNER

46 minutes
Pradeep Sah
2.0kViews
1699 Shares

बीरगन्ज,०७ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा मृतकका परिवार र सरकारबीच तीन बुँदे सहमति भएपछि बुधबारदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक सञ्चालनमा आएको छ।

गरिमाको न्यायको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेमा स्थानीयवासी र मृतकका परिवारले बुधबार बिहानदेखि सडकमा टेन्ट राखेर आन्दोलन गर्दै आएका थिए। शनिबार राति आन्दोलन फिर्ता लिएपछि आइतबार बिहानदेखि सडकमा सवारी आवागमन सहज बनेको हो।

आन्दोलनका कारण रोकिएका मालवाहक सवारीसाधन राति नै गन्तव्यतर्फ लागेका थिए। आइतबार बिहानदेखि लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन नियमित रूपमा सञ्चालन हुन थालेका छन्।

गत आइतबार बिहान घरबाटै बेपत्ता भएकी गरिमा चौधरीको शव दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा फेला परेको थियो। प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा सोही राति स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।

घटनामा संलग्नलाई कडा कारबाही, नाबालिकाको न्याय तथा परिवारलाई राहतलगायतका माग राख्दै स्थानीयले बुधबारदेखि सडक अवरुद्ध गरी आन्दोलन थालेका थिए। आन्दोलन विस्तारै देशव्यापी बन्दै गएपछि गृह मन्त्रालयले मृतकका अभिभावकलाई काठमाडौं बोलाएर वार्ता गरेको थियो।

गृहमन्त्री सुदन गुरुङको पहलमा गृह मन्त्रालयमा शनिबार राति भएको वार्तामा मृतकका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग तीन बुँदे सहमति भएको हो।

मृतकका परिवार काठमाडौं गए पनि स्थानीयवासीले भने सिमरामा धर्ना जारी राखेका थिए। गृह मन्त्रालयमा सहमति भएको जानकारी पाएपछि राति करिब १ बजे स्थानीयले सडकबाट धर्ना हटाएपछि अवरुद्ध सडक खुलेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *