वीरगन्ज,०७ भदौ । जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठकले जिल्लाका सबै वडामा संगठन विस्तारसँगै वडा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
माइस्थान अतिथि सदन, वीरगन्जमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो। पर्यवेक्षकले सम्बन्धित वडामा संगठनात्मक गतिविधि, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनाइएको छ।
बैठकमा पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउने तथा स्थानीय जनताका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो। निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गरी संगठनलाई व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।
बैठकमा पार्टीको राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहरप्रसाद साह, श्यामशंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनी तथा प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्रको उपस्थिति थियो।
त्यसैगरी जिल्ला पदाधिकारीहरू नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, राजुराज गिरी, सत्युग साह र जमिला खातुन, युवा जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्तासहित पालिका अध्यक्षहरू तथा अन्य नेता–कार्यकर्ताहरू बैठकमा सहभागी थिए।

प्रतिक्रिया