वीरगन्ज :

एक हप्ताभित्र माग पूरा नभए निर्माण ठप्प पारी आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.4kViews
1556 Shares

काठमाडौँ,२२ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै सरकारसँग तत्काल समस्या समाधानको माग गरेको छ। माग पूरा नभए देशभरका सबै निर्माण कार्य ठप्प पार्ने चेतावनी पनि महासंघले दिएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले हालको अवस्थालाई “कन्स्ट्रक्सन होलिडे” को संकेतका रूपमा चित्रण गरेको छ। महासंघका महासचिव शिवहरी घिमिरेका अनुसार पश्चिम एसिया युद्धपछि डिजेल, बिटुमिनदेखि सिमेन्ट र फलामजन्य सामग्रीसम्मको मूल्य अस्वाभाविक रूपमा बढेको छ, जसले पुरानो दररेटमा काम असम्भव बनाएको छ।

महासंघले मूल्यवृद्धिलाई “फोर्स मेजर” अवस्थाका रूपमा स्वीकार गरी निर्माण कार्यको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ। साथै चालू आर्थिक वर्षको पुँजीगत खर्च न्यून भएको र निर्माण क्षेत्र संकटमा पुगेको पनि महासंघको भनाइ छ।

त्यसैगरी, सार्वजनिक खरिद ऐनको अध्यादेशले केही सुधार ल्याए पनि “लो बिडिङ”, उपभोक्ता समिति मार्फत हुने काम र मूल्य समायोजनको समस्या सम्बोधन नभएको महासंघले जनाएको छ।

निर्माण व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउ कार्यप्रति पनि महासंघले आपत्ति जनाएको छ। महासचिव घिमिरेले सरकारको नीति दोहोरो मारजस्तो बनेको भन्दै तत्काल समाधान नआए देशभर निर्माण कार्य बन्द हुने चेतावनी दिए।

महासंघले एक हप्ताभित्र माग सम्बोधन नभए आन्दोलनका थप कडा कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *