श्रेणी : BANNER
काठमाडौं, २५ असार — इरानका विभिन्न रणनीतिक सैन्य लक्ष्यहरूमा अमेरिकाले लगातार हवाई आक्रमण विस्तार गरेपछि सम्पूर्ण खाडी क्षेत्रमा सुरक्षा चिन्ता चुलिएको छ। सम्भावित जवाफी क्षेप्यास्त्र प्रहारको जोखिम बढेपछि कतारले देशव्यापी ‘रेड अलर्ट’ जारी गरेको छ भने बहराइन र कुवेतमा पनि आपतकालीन साइरन बजाइएका छन्।
बुधबार राति दक्षिण तथा दक्षिण–पूर्वी इरानका सैन्य अखडा र रणनीतिक स्थानहरूलाई केन्द्रित गरी अमेरिकाले अघिल्लो दिनभन्दा अझ व्यापक स्तरमा हवाई कारबाही सञ्चालन गरेको बताइएको छ। यससँगै खाडी क्षेत्रका राष्ट्रहरूले सुरक्षा सतर्कता उल्लेखनीय रूपमा बढाएका छन्।
बढ्दो तनावका बीच कतारको गृह मन्त्रालयले नागरिक, विदेशी कामदार तथा सबै बासिन्दाको मोबाइलमा आपतकालीन सन्देश पठाउँदै जोखिमको अवस्था अत्यन्त गम्भीर रहेको जनाएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सुरक्षित स्थान वा सेल्टरमा बस्न तथा सरकारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
सरकारी सूचनामा सम्भावित विस्फोट वा त्यसबाट उत्पन्न हुने कम्पनको जोखिमलाई ध्यानमा राख्दै घरका झ्याल, ढोका तथा सिसाले बनेका संरचनाबाट टाढा रहन सुझाव दिइएको छ। सुरक्षा अवस्था सामान्य नभएसम्म यी सावधानी निरन्तर अपनाउन पनि अनुरोध गरिएको छ।
इरानसँग भौगोलिक रूपमा नजिक रहेका बहराइन र कुवेतले पनि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चेतावनी प्रणाली सक्रिय गरेका छन्। बहराइनको गृह मन्त्रालयले आपतकालीन साइरन सञ्चालन गरिएको पुष्टि गर्दै नागरिकलाई नआत्तिन, संयमित रहन र आवश्यक परे नजिकको सुरक्षित वा भूमिगत आश्रयस्थलमा जान निर्देशन दिएको छ।
त्यसैगरी, कुवेतको सरकारी समाचार संस्था ‘कुना’का अनुसार सम्भावित हवाई वा क्षेप्यास्त्र आक्रमणको पूर्वतयारीस्वरूप देशका विभिन्न क्षेत्रमा चेतावनी साइरन बजाइएको हो। साइरन बजेपछि खाडी क्षेत्रमा बसोबास गर्ने लाखौं स्थानीय तथा आप्रवासी नागरिकबीच त्रासको वातावरण सिर्जना भएको छ।
यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले पछिल्लो सैन्य कारबाहीको बचाउ गर्दै इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले हवाई आक्रमण विस्तार गरिएको जनाएको छ। विशेषगरी विश्वको प्रमुख इन्धन ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जलयातायातलाई सुरक्षित राख्न इरानको समुद्री तथा हवाई प्रतिरक्षा संरचनामाथि लक्षित आक्रमण गरिएको सेन्टकमको दाबी छ।
पछिल्लो सैन्य टकरावसँगै विश्व ऊर्जा आपूर्तिको केन्द्र मानिने खाडी क्षेत्र थप अस्थिर बन्दै गएको छ। रणनीतिक रूपमा अत्यन्त संवेदनशील ‘स्ट्रेट अफ होर्मुज’ आसपासको सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढाएको छ भने युद्ध थप फैलिने सम्भावनालाई लिएर विश्वभर चासो बढेको छ।

प्रतिक्रिया