वीरगन्ज :

अडानको २१औँ स्थापना दिवसमा वीरगन्जमा प्रभातफेरी

श्रेणी : मधेस

57 minutes
Pradeep Sah
2.8kViews
1624 Shares

वीरगन्ज, २० साउन । नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसका अवसरमा अडान पर्साले बुधबार वीरगन्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरीमा पर्साका लेखापरीक्षक तथा लेखा व्यवसायीहरूको सहभागिता रहेको थियो। घण्टाघरबाट सुरु भएको प्रभातफेरी भानुचोकको परिक्रमा गरी पुनः घण्टाघरमा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रममा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियारले लेखापरीक्षकको संख्या घट्दै गएको र पेशालाई कमजोर बनाउने गतिविधि भइरहेको भन्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि लेखापरीक्षकहरू एकजुट हुनुपर्नेमा जोड दिए।

अर्का केन्द्रीय सदस्य डा. सन्तोषकुमार साहले लेखापरीक्षकहरूलाई बिचौलिया तथा ‘झोले’ प्रवृत्तिबाट टाढा रहँदै इमान्दार, निष्पक्ष र मर्यादित रूपमा पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा अडानका केन्द्रीय अनुशासन समिति सदस्य प्रदुम्नप्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दीपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादवलगायत लेखापरीक्षक तथा ‘भिजन टिम’को सहभागिता थियो।

अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसियाले सहभागीहरूलाई स्वागत गरेका थिए भने सचिव कुलोत्तम पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए। कोषाध्यक्ष रामबाबु साहले व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नियामक निकायले लागू गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा आफ्नो हस्ताक्षरको दुरुपयोग हुन नदिन लेखापरीक्षकहरूलाई सचेत गराए।

अध्यक्ष सिंहले कार्यक्रममा सहभागी ‘भिजन टिम’ले लेखापरीक्षकहरूका लागि भेस्ट उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धताको स्वागत गरे।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिता पालनाका साथै लेखापरीक्षण पेशाको गरिमा र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *