श्रेणी : अन्तर्राष्ट्रिय
भारतको पूर्वी राज्य विहारमा पछिल्लो २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको चट्याङ लागेर ज्यान गएको हो ।
विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको भन्दै विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् ।
यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् । साथै उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया