वीरगन्ज :

कलैयामा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

श्रेणी : दुर्घटना

3 weeks
Pradeep Sah
2.3kViews
1378 Shares

बारा,०५ साउन । बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक सोमबार मध्यराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८, इमलीप्रतीका ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, दुर्घटनामा सोही क्षेत्रका ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। प्रहरीले उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ।

घटनापछि अस्थायी प्रहरी पोस्ट बसपार्क तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरका २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाका कारण मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने ठोक्किएको घरको एकतर्फी पर्खाल भत्किएको प्रहरीले जनाएको छ। घटनापछि सडक यातायात भने अवरुद्ध नभएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *