वीरगन्ज :

इँटा उद्योगको खाल्डो बन्यो काल, बारामा ११ वर्षीया बालिकाको डुबेर मृत्यु

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.6kViews
1717 Shares

बीरगन्ज,३२ असार । बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो उत्खननपछि खुला छाडेको पानी भरिएको खाल्डोमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय शिवनारायण चौधरीकी छोरी रोशनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे बाख्रा चराउन गएकी रोशनी गौतम इँटा उद्योग नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेकी थिइन्।

बालिका घर नफर्किएपछि स्थानीयले खोजी गर्ने क्रममा उनको शव पानी भरिएको खाल्डोबाट फेला पारेका थिए। घटनापछि गञ्जभवानीपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि करैयामाई गाउँपालिका–३ का वडाध्यक्ष प्रशुराम यादवले इँटा उद्योग तथा अन्य निर्माणका क्रममा खनिएका खाल्डा खुला छाडिँदा वर्षायाममा पानी भरिने र यसले बालबालिकासहित सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको बताए।

उनले यस्ता खाल्डालाई तत्काल घेराबार गर्ने, चेतावनी बोर्ड राख्ने तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

वर्षायाममा खुला खाल्डा, पोखरी तथा नदी–नालाको आसपास बालबालिकालाई एक्लै जान नदिन र जोखिमयुक्त स्थानको समयमै व्यवस्थापन गर्नुपर्ने आवश्यकता यस घटनाले फेरि एकपटक उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *