वीरगंज, १८ असोज । जनमत पार्टीको अध्यक्षमा डा। सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगंजमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो। तर पार्टीको विधानअनुसार निर्वाचित हुन उम्मेदवारले कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको थियो। राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
महासचिवमा भने सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। तीन जनाबीच भएको प्रतिस्पर्धामा यादवले ६१८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ममता झा र यसअघिका महासचिव चन्दनकुमार सिंहले क्रमशः २२० र १६५ मत प्राप्त गरे। दुवैले २० प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेनन्।
यादव मधेश प्रदेशसभा सदस्य हुन्। उनी यसअघि दुई पटक मन्त्रीसमेत भइसकेका छन्। जनमत पार्टीमा उनी अध्यक्ष राउतसँगै सक्रिय रहँदै आएका छन्।
सात उपाध्यक्ष पदमा अनिता कुमारी मण्डल, अनिता देवी साह, नरेन्द्र प्रसाद चौधरी, बसन्त कुमार कुशवाहा, डा. जयकान्त राउत, राजकुमार यादव र माधव प्रसाद सिंह निर्वाचित भएका छन्।
उपमहासचिवमा निर्मल कुमार मण्डल तथा सात सचिवमा सुरेन्द्र शर्मा मधेशी, पारस प्रसाद साह, सन्तोष राज सहनी, अञ्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।
महाधिवेशनबाट १७ सदस्यीय पदाधिकारी र केन्द्रीय कार्यकारिणी समितिमा ४८ जना सदस्यसमेत निर्वाचित भएका छन्।





प्रतिक्रिया