वीरगन्ज :

चारैतिर घण्टी बजे पनि आवाज सुनिएन : प्रभु साह

श्रेणी : BANNER

7 hours
Pradeep Sah
2.7kViews
1968 Shares

काठमाडौं,१८ असाेज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र आलोचना गरेका छन्। आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले सरकार बाहिरबाट सक्रिय देखिए पनि जनताले अनुभूति गर्ने गरी कुनै ठोस परिणाम दिन नसकेको आरोप लगाए।

उनले सरकारलाई ‘नक्कली’ र ‘छद्मभेषी’ को संज्ञा दिँदै भने, ‘चारैतिर घण्टी बजेको छ, तर आवाज कतै सुनिँदैन। संख्या ठूलो छ, तर परिणाम शून्य छ। सरकार आफ्नै दुईतिहाइको बोझले थिचिएको छ।’

बैठकको सुरुवातमा भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा भएका बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साहले पीडितको खोजी, उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरे। जलवायु परिवर्तनका कारण नेपालमा जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा विषय उठाउने मात्र नभई जलवायु न्यायका लागि व्यवहारिक पहल आवश्यक रहेको बताए।

‘सरकार प्लास्टिकको फूलजस्तै’

सम्बोधनका क्रममा दुईवटा गुलाफका फूलमध्ये एउटा प्राकृतिक र अर्को प्लास्टिकको देखाउँदै साहले वर्तमान सरकारलाई कृत्रिम फूलसँग तुलना गरे। उनका अनुसार बाहिरबाट हेर्दा प्राकृतिक र कृत्रिम फूल उस्तै देखिए पनि छाम्दा त्यसको वास्तविकता थाहा हुन्छ। वर्तमान सरकार पनि बाहिर एउटा देखाउने र भित्र अर्को गर्ने शैलीमा अघि बढिरहेको उनको आरोप थियो।

साहले मुलुक लामो समयदेखि संवैधानिक तथा राजनीतिक संकटमा रहेको दाबी गर्दै संसद्, सरकार र राज्य सञ्चालनका पछिल्ला अभ्यासले संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएको बताए।

राज्यका निकाय ‘ट्र्याक’ बाहिर गएको दाबी

साहले राज्यका प्रमुख अंगहरू आफ्नो जिम्मेवारीबाट विचलित भएको आरोप लगाए। सीमाको सुरक्षामा केन्द्रित हुनुपर्ने सेनालाई आन्तरिक काममा प्रयोग गरिएको तथा नागरिकको सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासन पनि विवादमा अल्झिएको उनको भनाइ थियो।

न्यायालयसमेत दबाब र त्रासमा रहेको दाबी गर्दै उनले नागरिकले सहज रूपमा न्याय पाउने अवस्था कमजोर बनेको आरोप लगाए। जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका घाइते, सहिद परिवार तथा युवाका समस्या समाधान गर्न नसकेको पनि उनले बताए। सुकुम्बासी व्यवस्थापनका नाममा नागरिकलाई घरबारविहीन बनाइएको र पुनर्स्थापनामा सरकार गम्भीर नभएको उनको आरोप थियो।

‘कर आतंक’ र महँगी बढेको आरोप

साहले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्दै सरकारमाथि ‘कर आतंक’ सिर्जना गरेको आरोप लगाए। शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवा सहज र सुलभ बनाउनुपर्नेमा नागरिकमाथि करको भार थपिएको उनको भनाइ थियो। दसैँ–तिहारको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको तर सरकारले प्रभावकारी नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए।

भारत र चीनको तुलनामा नेपालमा उपभोग्य वस्तु महँगो रहेको दाबी गर्दै उनले मासु, चामललगायत दैनिक आवश्यकताका वस्तुको मूल्य बढेको बताए। सरकारले अनलाइन सेवा विस्तार गर्ने घोषणा गरे पनि नागरिकले राहदानी, अस्पताल र ग्यासलगायत सेवाका लागि अझै लामो समय लाइन बस्नुपरेको साहको भनाइ थियो।

बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि किसान, बिरामी तथा सर्वसाधारणले सहज रूपमा ऋण पाउन नसकेको उनले बताए। राज्यले भने बैंकलाई ब्याज तिर्नुपर्ने अवस्था सिर्जना भएको उनको दाबी थियो।

सीमा र किसानका समस्या उठाए

भन्सारमा घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति बढेको भन्दै साहले सीमावर्ती क्षेत्रमा हुने ज्यादती तत्काल रोक्न माग गरे।

किसानले मल, बीउ तथा उत्पादनको उचित मूल्य नपाएको र उखु किसानको बक्यौता अझै समाधान नभएको उल्लेख गर्दै उनले सरकार किसानप्रति उदासीन बनेको आरोप लगाए। साहले वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै देशलाई संकटबाट निकाल्न आजपाले ‘अग्रगामी मोर्चा’ निर्माण गरेर अघि बढ्ने घोषणा गरे।

केन्द्रीय समिति बैठकमा उनले आफ्नो राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि गम्भीर छलफल गरी पार्टीले आगामी राजनीतिक तथा आन्दोलनको दिशा तय गर्ने उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *