वीरगंज, १८ असोज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबारे प्रतिनिधिसभामा सांसद रहबर अन्सारीले उठाएका आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सांसद अन्सारीले प्रतिनिधिसभामा नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई फ्याकल्टी सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको लगायतका आरोप उठाएका थिए।
एसोसिएसनले यी आरोपमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिने विषय भएकाले यस्ता आरोपलाई गम्भीर रूपमा लिनुपर्ने जनाएको छ।
कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायतका अधिकारप्राप्त निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने एसोसिएसनको भनाइ छ।
तर, एसोसिएसनले आरोप र प्रमाणित तथ्य एउटै नभएको भन्दै अधिकारप्राप्त निकायको छानबिन र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्न नहुने जनाएको छ। त्यसो गर्दा सम्बन्धित संस्था मात्र नभई विद्यार्थी, चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रतिष्ठा र चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासमा समेत असर पर्न सक्ने उसको भनाइ छ।
एसोसिएसनले प्रतिनिधिसभामा सार्वजनिक रूपमा उठाइएका विषयमा चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।
साथै विद्यार्थीको भविष्य, बिरामीको सेवा र चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई ध्यानमा राख्दै सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन एसोसिएसनले अनुरोध गरेको छ।

प्रतिक्रिया