वीरगन्ज :

मित्तल–अग्रवाल विवाद : आफैंले दिएको चेकको विषयमा प्रहरीमा उजुरी, चेकको विश्वसनीयतामाथि प्रश्न

श्रेणी : BANNER

14 hours
Pradeep Sah
2.9kViews
1317 Shares

वीरगंज, १७ असोज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन्। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, वारामा नागरिकतासम्बन्धी उजुरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ। मित्तलमाथि भारत र नेपाल दुवै देशको नागरिक रहेको आरोपसमेत लाग्दै आएको छ।

यसैबीच, मित्तलमाथि वीरगन्जका व्यवसायी निरञ्जन अग्रवाललाई फसाउन खोजेको आरोपसमेत लागेको छ। उद्योगी अग्रवालले आफूले लिनुपर्ने रकमबापत मित्तलले सौहार्दपूर्ण वातावरणमा चेक दिएको, तर पछि उल्टै प्रहरीमा उजुरी गरेर आफूलाई फसाउने प्रयास गरेको आरोप लगाएका छन्।
आफूले पाउनुपर्ने रकमबापत मित्तलले आफैंले दिएको चेकका आधारमा रकम असुल गर्नुपर्ने अवस्थामा उल्टै प्रहरीमा निवेदन दिएर मानसिक यातना दिने प्रयास गरिएको अग्रवालको आरोप छ। मित्तलले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि चेक लिने पक्षलाई नै प्रतिवादी बनाउने प्रयास भएको भन्दै अग्रवालले आपत्ति जनाएका छन्।

आफैंले दिएको चेक चोरी भएको वा दुरुपयोग भएको दाबी गर्दै उजुरी परेपछि आफू आश्चर्यमा परेको अग्रवालले बताएका छन्। अग्रवालका अनुसार यसअघि पनि मित्तलले विभिन्न बिचौलियामार्फत आफूविरुद्ध मुद्दा तथा जालझेल गर्ने प्रयास गर्दै आएका थिए। पछिल्लो समय बाटोघाटोमा भेट हुँदा समेत आफूहरूबीच सौहार्दपूर्ण रूपमा कुराकानी हुने गरेको र मित्तलले विगतमा भएका विषयमा आफूले कुनै षड्यन्त्र नगरेको बताउने गरेको अग्रवालको दाबी छ।

अग्रवालले भने, “हामी मिलेर आ–आफ्नो कारोबार गरौँ, हामीबीच रहेको लेनदेनको विषय आपसी सहमतिमा मिलाऔँ र अड्डा–अदालतबाट पछि हटौँ” भन्दै मित्तलले आफूलाई दिनुपर्ने रकम बराबरको चेक आफैं दिएको दाबी गरेका छन्। तर अहिले आएर सोही विषयलाई लिएर आफूविरुद्ध झुटो मुद्दा लगाउने प्रयास भएको जानकारी केही सञ्चारमाध्यमबाट पाएको उनले बताए।

मित्तलसँग आफ्नो कुनै किसिमको दुश्मनी वा द्वेष नरहेको बताउँदै अग्रवालले उनको पछिल्लो कार्यशैलीबाट आफू चकित भएको बताएका छन्। केही दिनअघि
मात्र आफूहरूबीच भेटघाट तथा कुराकानी भएको र उक्त भेटको भिडियोसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरे।
अग्रवालले मित्तललाई बिचौलियाको उक्साहटमा पुनः आफूविरुद्ध लागेको आरोपसमेत लगाएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरीमा उजुरी परेको र घटनाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन्। चेक के–कति कारणले लेनदेन भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने तथा दोषी देखिएकालाइ आवश्यक कानुनी कारबाही गरिने उनले बताए।

चेक लेनदेनसम्बन्धी विवादमा दुवै पक्षका दाबी फरक–फरक रूपमा सार्वजनिक भएपछि व्यवसायी वृत्तमा समेत चेकको विश्वसनीयता र व्यावसायिक कारोबारमा यसको प्रयोगबारे चर्चा सुरु भएको छ। व्यवसायिक कारोबारमा चेक दिएपछि पुनः त्यही चेकको विषयमा विवाद उत्पन्न हुने अवस्था आए व्यापारिक लेनदेनमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रश्नसमेत उठेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *