वीरगन्ज :

दुई दिन बिदा नदिने विद्यालयलाई बीरगंज महानगरको कडा निर्देशन

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1378 Shares

बीरगंज,१५ असाेज । बीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा हप्ताको दुई दिन शनिबार र आइतबार अनिवार्य बिदा दिन निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो। तर वीरगञ्जका केही निजी विद्यालयले आइतबारसमेत कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले दुई दिन बिदा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

नगर शिक्षा समितिको असोज ५ गतेको निर्णयअनुसार शैक्षिक प्रशासन महाशाखाले असोज १३ गते सबै विद्यालयलाई परिपत्र गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न ताकेता गरेको थियो। महानगरपालिकाले उक्त निर्णयबारे बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक जानकारी गराएको हो।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित निर्देशनमा शनिबार र आइतबार बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टा घट्न नदिन विद्यालयले आवश्यक व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

महानगरपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदालाई समायोजन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

स्वीकृत पाठ्यक्रमअनुसार तोकिएको वार्षिक कार्यघण्टा अनिवार्य रूपमा पूरा हुने गरी विद्यालय सञ्चालन गर्नसमेत महानगरपालिकाले निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *