वीरगन्ज :

वीरगंजमा नगर बस सेवा सञ्चालन गर्ने मेयर सिंहको घोषणा

श्रेणी : BANNER

46 minutes
Pradeep Sah
1.5kViews
1438 Shares

वीरगंज,१४ असोज । वीरगंज महानगरपालिकाले निर्माणाधीन बीपी उद्यान पार्क र नगर बस सेवा यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

महानगरपालिकाको २१औँ विशेष नगरसभामा चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले घण्टाघर नजिक निर्माण भइरहेको बीपी उद्यानलाई यसै वर्ष सञ्चालनमा ल्याउने बताएका हुन्।

उनका अनुसार पार्कमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गरी सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरिनेछ।

महानगरवासीको यातायात सुविधालाई सहज बनाउन निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा पनि सञ्चालनमा ल्याउने सिंहले बताए।

रात्रिकालीन समयमा वीरगंजलाई सुरक्षित र उज्यालो बनाउन सञ्चालित ‘उज्यालो वीरगंज’ अभियानलाई थप प्रभावकारी बनाइने उनले बताए। अभियानअन्तर्गत मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी र हाइमास्ट बत्ती जडानलाई तीव्रता दिई महानगरको कुनै पनि क्षेत्र अँध्यारो नरहने व्यवस्था गरिने उनको भनाइ छ।

वीरगंजलाई स्वच्छ, हरित र आकर्षक शहरका रूपमा विकास गर्न ‘स्वच्छ, हरित र वैभव वीरगंज’ अभियान सञ्चालन गरिने पनि सिंहले जानकारी दिए। अभियानअन्तर्गत सडक करिडोर तथा डिभाइडरमा हरियाली प्रवद्र्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गरिनेछ।

शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउन सार्वजनिक विद्यालयको दरबन्दी संरचना, विद्यार्थी संख्या र भौतिक पूर्वाधारबीच आवश्यक तादम्यता कायम गरिने उनले बताए। भोजपुरी भाषा, संस्कृति, साहित्य तथा कलाको संरक्षण र प्रवद्र्धनका लागि भोजपुरी प्रतिष्ठानसहित सम्बन्धित संघसंस्था तथा व्यक्तिको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरे।

त्यसैगरी महानगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै आधारभूत स्वास्थ्य केन्द्र, योग तथा ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला र मनोरञ्जनस्थल तथा पार्कलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने सिंहले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *