वीरगन्ज :

सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.2kViews
1259 Shares

बीरगन्ज,०७ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।

बलात्कारपछि हत्या गरिएकी गरिमाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा परिवारको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

सरकार र पीडित परिवारबीच शनिबार राति गृह मन्त्रालयमा तीनबुँदे सहमति भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका थिए। त्यसपछि शवलाई पसाहा खोलामा लगेर अन्तिम संस्कार गरिएको हो।

अन्त्येष्टिमा गरिमाका परिवार तथा आफन्तसँगै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौलालगायतको उपस्थिति थियो।

निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाही र कानुनी सुधारको माग गर्दै परिवारले केही दिनदेखि बालिकाको शव बुझ्न अस्वीकार गर्दै आएको थियो।

शनिबार राति गृहमन्त्रीसहित पाँच मन्त्री र सांसदहरूको उपस्थितिमा भएको छलफलमा कानुनी व्यवस्था पुनरावलोकन गर्न ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने लगायतका विषयमा लिखित सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो।

सरकारसँगको सहमतिपछि परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार गरिमाको अन्त्येष्टि गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *