बीरगन्ज,०७ भदौ । उत्पादनमा आएको कमीका कारण बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार पछिल्लो एक महिनामै अण्डाको मूल्य प्रतिक्रेट ७५ रुपैयाँसम्म बढेको हो।
संघका अनुसार साउन ६ गतेको तुलनामा हाल एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यस्तै, ठूलो अण्डा ५७५ रुपैयाँ, मिडियम ५२० रुपैयाँ र सानो अण्डा ४४८ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट ५७० रुपैयाँभन्दा माथि पुगेको थिएन। उत्पादन घटेपछि आपूर्ति कम हुँदा मूल्य लगातार बढिरहेको संघले जनाएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार बर्डफ्लु, अत्यधिक गर्मी र उत्पादन लागत बढ्नुका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएका छन्। यसले अण्डा उत्पादनमा प्रत्यक्ष असर पारेको छ।
अहिले दैनिक अण्डा उत्पादन करिब २२ हजार कार्टुनमा झरेको छ। यसअघि देशभर दैनिक करिब २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेको थियो।
चल्लाको अभाव, ह्याचरी उद्योग बन्द हुनु तथा बर्डफ्लुको प्रभावका कारण किसानले नयाँ चल्ला राख्न नसक्दा उत्पादन घटेको बताइएको छ।
नेपाल ह्याचरी उद्योग संघका महासचिव नवराज पौडेलका अनुसार दुई वर्षअघि देशभर ३५४ वटा ह्याचरी उद्योग सञ्चालनमा रहेकामा अहिले उक्त संख्या घटेर ११० वटामा सीमित भएको छ। ह्याचरी उद्योगको संख्या घट्नुले आगामी दिनमा समेत अण्डा उत्पादनमा असर पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया