काठमाडौं,१३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई समाधान गरी सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले विशेष पहल गरिरहेको बताएका छन् ।
बुधबार बिहान सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बसेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट सहभागी हुँदै अर्थमन्त्री वाग्लेले सुनसरीमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर भएर काम गरिरहेको जानकारी गराएका हुन् ।
उनले सुनसरीमा सामाजिक सद्भाव कायम गर्ने, सुरक्षा व्यवस्था चुस्त बनाउने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताए ।
‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,’ वाग्लेले बैठकमा भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ । राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’
सुनसरीको अवस्था सामान्य बनाउन तथा नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन सरकारले आवश्यक समन्वयसहित काम गरिरहेको पनि उनले राजनीतिक दलका नेताहरूलाई जानकारी गराए ।
बैठकमा राजनीतिक दलका नेताहरूले उठाएका विषय प्रधानमन्त्रीसमक्ष जानकारी गराउने प्रतिबद्धता जनाउँदै वाग्लेले सुनसरीको समस्या समाधानका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।
उनले राजनीतिक दल, सरकार र सम्बन्धित सबै पक्षको समन्वयबाट मात्रै घटनापछि उत्पन्न परिस्थितिको दीर्घकालीन समाधान खोज्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया