जनकपुर,१२ साउन । धनुषाका साहु–महाजनहरूले मिटरब्याजीसम्बन्धी उजुरीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई ज्ञापनपत्र बुझाउँदै वास्तविक लगानीकर्ताको संरक्षण र झुटा उजुरीमाथि पनि अनुसन्धान हुनुपर्ने बताएका हुन्।
ज्ञापनपत्रमा वास्तविक मिटरब्याज पीडितले न्याय पाउनुपर्ने विषयमा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आन्दोलनको आडमा केही व्यक्तिले वास्तविक ऋण तिर्ने दायित्वबाट उम्किन खोजेको दाबी गरिएको छ।
उनीहरूले बैंक खाताको विवरण, तमसुक, सावाँ रकमको कारोबार तथा अन्य प्रमाणका आधारमा वास्तविक पीडित र नियतवश ऋण नतिर्न खोज्ने व्यक्तिबीच स्पष्ट छुट्याएर अनुसन्धान गर्न आग्रह गरेका छन्।
साहु–महाजनहरूले आफ्नो मेहनतको कमाइ, पेन्सन वा सम्पत्ति बिक्रीबाट प्राप्त रकम विश्वासका आधारमा ऋण लगानी गर्दा अहिले आफूहरू नै पीडित बन्ने अवस्था आएको बताएका छन्। साथै, मुलुकी देवानी संहिता, २०७४ मा लेनदेन, लिखत, ब्याज र कानुनी उपचारसम्बन्धी स्पष्ट व्यवस्था रहेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
ज्ञापनपत्रमार्फत मिटरब्याजीसम्बन्धी उजुरीको निष्पक्ष अनुसन्धान, लेनदेनसम्बन्धी विवाद अदालत तथा प्रचलित कानुनअनुसार टुंग्याउने व्यवस्था, झुटा उजुरी दिने व्यक्तिमाथि कानुनी कारबाही, वैधानिक रूपमा गरिएको लगानीको सावाँ–ब्याज असुलीको सुनिश्चितता तथा अनुचित लेनदेनसम्बन्धी शाखामार्फत भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
उनीहरूले नेपाल सरकार मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णय पुनर्विचार गर्न पनि आग्रह गर्दै कानुनी प्रक्रियाअनुसार भएका कारोबारको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया