काठमाडौँ,०८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिमाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुप्ताले गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। सोही घटनालाई आधार बनाएर ट्राफिक प्रहरीले कारबाही गर्दै जरिमाना तिराएको हो।
घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको र रमाइलोको क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको महसुस भएको बताएका छन्।
आफ्नो गल्ती स्वीकार गर्दै गुप्ताले भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। साथै, आफ्नो ऊर्जा र उत्साह देश तथा जनताको सेवामा लगाउने उल्लेख गर्दै आफूबाट जानी–नजानी भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।

प्रतिक्रिया