श्रेणी : BANNER
वीरगंज (पर्सा), १८ असार । यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतोविरुद्धको अभद्र व्यवहार सम्बन्धी मुद्दाको फाइल प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको छ ।
वीरगंज महानगरपालिका–१२ निवासी महतोलाई मंगलबार मोटरसाइकल नामसारी गराउन यातायात व्यवस्था कार्यालय पुगेका बेला वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
यातायात कार्यालय स्रोतका अनुसार महतोले आफूले खरिद गरेको गोपाल बस्नेतको नाममा रहेको मोटरसाइकल आफ्नो नाममा नामसारी गरिदिन आग्रह गरेका थिए । उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नागरिक एपमा रहेका कागजातसमेत देखाएर प्रक्रिया अघि बढाइदिन अनुरोध गरेका थिए । तर फाँट प्रमुख प्रेम कार्कीले आवश्यक कागजात नपुगेको भन्दै नामसारी गर्न अस्वीकार गरेपछि विवाद भएको थियाे ।
स्रोतका अनुसार महतोले नामसारीका लागि दबाव दिएपछि फाँट प्रमुख कार्कीले प्रहरी बोलाएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर लगिएको थियो ।
प्रहरी स्रोतका अनुसार प्रारम्भमा सहमतिमै घटनाको समाधान गर्ने प्रयास भए पनि सहमति हुन नसकेपछि महतोविरुद्ध बुधबार अभद्र व्यवहारको मुद्दा चलाइएकाे थियाे ।
त्यसपछि केही सञ्चारमाध्यममा सेवाग्राहीमाथि अभद्र व्यवहार मुद्दा चलाइएको समाचार सार्वजनिक भएपछि प्रहरीले तीव्र रूपमा कानुनी प्रक्रिया पूरा गर्दै बिहीबार मुद्दाको फाइल जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरले महतोको मुद्दाको फाइल जिल्ला प्रशासन कार्यालयमा बुझाइसकिएको पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार मुद्दामाथिको आदेश बिहीबार नै आउने अपेक्षा गरिएको छ ।
प्रशासन स्रोतका अनुसार महतो धरौटीमा बिहीबार साँझसम्म रिहा हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया