बीरगन्ज,०८ भदौ । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन्।
मन्त्री महतोका अनुसार प्रदेशका आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई लक्षित गरी सवारीसाधन उपलब्ध गराइएको हो। नयाँ गाडीले प्रहरीको दैनिक परिचालन तथा शान्तिसुरक्षा कायम गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाडी प्राप्त गर्ने इलाका प्रहरी कार्यालयमा चन्द्रपुर, गरुडा, गोडैता र गडहिया रहेका छन्। बाँकी सवारीसाधन प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा पठाइने जनाइएको छ।
गाडी हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो।
प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले १२ वटा पिकअप गाडी खरिद गरेको जनाएको छ।

प्रतिक्रिया