वीरगन्ज :

गरिमाका आमाबुबा र आरोपितको भिडियो सार्वजनिक भएकोमा रास्वपा महामन्त्रीको आपत्ति

श्रेणी : प्रदेश

58 minutes
Pradeep Sah
2.1kViews
1546 Shares

काठमाडौं,०८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबाको गृह मन्त्रालयमा खिचिएको भिडियो तथा घटनाका आरोपितको सोधपुछसम्बन्धी भिडियो सार्वजनिक भएकोप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले संवेदनशील घटनामा पीडित परिवार र आरोपितसँग सम्बन्धित भिडियो सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए।

उनले मृतकका आमाबुबाले सरकारको पहलप्रति धन्यवाद व्यक्त गरेको भिडियो मन्त्रालयभित्रै खिचेर सार्वजनिक गर्नु र अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा आरोपितले बोलेका कुरा बाहिर ल्याउनु गम्भीर विषय भएको बताए।

आचार्यले भने, ‘हामीले कस्तो समाज बनाइरहेका छौं भन्ने मनन गर्नुपर्छ। मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र मेडिकल गर्दै गर्दा आरोपितले बोलेका कुरा सार्वजनिक गरिन्छ। यस्तो प्रवृत्ति बन्द गरिनुपर्छ।’

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा साउन ३१ गते बिहान घरबाटै हराएकी थिइन्। करिब साढे तीन घण्टासम्म बालिका नदेखिएपछि उनकी आमा मानमती चौधरीले सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्। खोजीका क्रममा तीन दिनपछि बालिकाको शव फेला परेको थियो।

घटनापछि संघीय सरकारले समेत चासो देखाउँदै गरिमाका बुवा मनोज चौधरी र आमा मानमतीलाई काठमाडौं बोलाएको थियो। उनीहरूसँग गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयको टोलीले छलफल गरेको थियो। छलफलपछि सरकारले आफूहरूको कुरा सुनेको भन्दै परिवारले सरकारको पहलप्रति सकारात्मक प्रतिक्रिया दिएको थियो।

यसैबीच, गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरसँग अस्पतालमा गरिएको सोधपुछको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा हतकडी लगाएका किशोरसँग दुई प्रहरीसमेत देखिन्छन्।

आरोपितको स्वास्थ्य परीक्षण तथा परामर्शका क्रममा खिचिएको भनिएको उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले समेत घटनाबारे चासो देखाएका छन्।

आचार्यले आरोपितको भिडियो सार्वजनिक गर्नु पनि अनुसन्धानको संवेदनशीलता र कानुनी प्रक्रियाको मर्यादाविपरीत हुने भन्दै यस्ता गतिविधि रोक्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *