वीरगन्ज :

बिचौलियाको चलखेल अन्त्य गर्न माग, माइतीघरमा पोल्ट्री किसानको प्रदर्शन

श्रेणी : प्रदेश

1 hour
Pradeep Sah
2.4kViews
1182 Shares

काठमाडौं,०८ भदौ । पोल्ट्री व्यवसायी तथा किसानहरूले बिचौलियाको प्रभाव अन्त्य गरी किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पोल्ट्री किसानले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै साना किसानको विस्थापन रोक्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनमा सहभागी किसानहरूले पोल्ट्री व्यवसायमा बिचौलियाको जालोका कारण आफूहरू मर्कामा परेको भन्दै किसानबाट उपभोक्तासम्म पुग्ने आपूर्ति प्रणाली पारदर्शी र व्यवस्थित बनाउन माग गरे।

उनीहरूले पोल्ट्री क्षेत्रमा लागू गरिएको ग्रेडिङ प्रणाली खारेज गर्नुपर्ने, भारतबाट हुने अवैध कुखुरा आयात तथा तस्करी नियन्त्रण गर्नुपर्ने र दाना तथा चल्लाको मूल्य पारदर्शी बनाउनुपर्ने माग राखेका छन्।

त्यसैगरी, कुखुराजन्य उत्पादनको वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने तथा दाना र चल्लाको गुणस्तर सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
किसानहरूले आफ्नो श्रमको उचित सम्मान हुनुपर्ने र पोल्ट्री व्यवसायमा गरिएको लगानीको सुरक्षा तथा सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले किसानका माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *