काठमाडौं, १९ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार सिंहलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध लिखत किर्ते सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला अदालतले ८ जेठमै पक्राउ अनुमति दिएको भए पनि उनी हालसम्म प्रहरीको सम्पर्कबाहिर रहेका थिए। यस प्रकरणमा मेयर सिंहसहित चार जनाविरुद्ध स्थानीयवासी लियाकत अलीले उजुरी दर्ता गराएका थिए।
उजुरीमा मेयर सिंहले नक्कली कागजात प्रयोग गरी अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाइदिएको आरोप लगाइएको छ। सोही आरोपको अनुसन्धानका लागि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
प्रतिक्रिया