श्रेणी : BANNER
बीरगन्ज, ११ वैशाख । बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा बसोबास गर्ने एक आर्थिक रूपमा कमजोर परिवारलाई छोरीको विवाहका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको छ। स्थानीय सामाजिक संस्था कानु युथ वीरगन्जले उक्त सहयोग गरेको हो।
वैशाख १२ गते हिन्दु संस्कारअनुसार तय भएको विवाह नजिकिँदै गर्दा आर्थिक अभावले परिवार अप्ठ्यारोमा परेको जानकारी पाएपछि संस्थाले करिब २५ हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ। सहयोगस्वरूप चामल, दाल, चिनी, आलु, प्याज, तेल, मैदा, बेसन, ग्यास सिलिन्डर तथा विभिन्न हरियो तरकारी प्रदान गरिएको थियो।
संस्थाका सचिव श्रवण साहका अनुसार समाजका विपन्न र असहाय परिवारलाई साथ दिने उद्देश्यले यस्तो पहल गरिएको हो। उनले यस्ता सामाजिक कार्यले समुदायमा सहकार्य र सकारात्मक सोच विस्तार हुने विश्वास व्यक्त गरे।
सहयोग वितरण कार्यक्रममा संस्थाका अध्यक्ष मनोज साह, सदस्य देवेन्द्र साह कानु, कानु समाज बाराका रमेश साह कानु तथा अजय साहलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया