वीरगन्ज :

लाइसेन्स छपाइमा ढिलाइ रोक्न मुद्रण केन्द्र तयारीमा, असारभित्र सबै बाँकी छपाइ गरिने

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
1.9kViews
1675 Shares

काठमाडौं,२२ चैत । सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा लामो समयदेखि रोकिएका सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिँदै असार मसान्तसम्म सबै बाँकी लाइसेन्स छापिसक्ने तयारी गरेको छ।

केन्द्रका अनुसार हाल कार्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ भइरहेको छ। कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल ‘ब्लक’मा रहेका लाइसेन्स छपाइ कार्य जारी छ।

विभागले हालसम्म करिब २ लाख ३८ हजार सेवाग्राहीको विवरण पठाएकोमा अधिकांश लाइसेन्स छपाइ भइसकेको छ। तीमध्ये करिब १ लाख ७० हजार थान वितरणका लागि पठाइसकिएको र बाँकी ६८ हजार थान छपाइ अन्तिम चरणमा रहेको केन्द्रले जनाएको छ।

त्यस्तै, अत्यावश्यक सेवाका लागि करिब ३१ हजार ५ सय लाइसेन्स तत्काल छपाइ गरी वितरण गरिसकिएको पनि विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि शाखा प्रमुख केशव खतिवडाका अनुसार अब उपत्यका नजिकका कार्यालयले प्रत्यक्ष रूपमा लाइसेन्स बुझ्ने र टाढाका कार्यालयमा हुलाकमार्फत पठाउने तयारी भइरहेको छ।

केन्द्रले हप्तामा करिब २ लाख लाइसेन्स छपाइ गर्ने क्षमता अनुसार काम अगाडि बढाइरहेको र करिब १७ लाख बाँकी लाइसेन्स असारसम्म सक्ने लक्ष्य लिएको बताइएको छ।

भदौ २३–२४ को जेन–जी आन्दोलनका क्रममा विभागको डाटा सेन्टरसहित छपाइ मेसिन तथा पूर्वाधारमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। त्यसपछि लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिइएको हो।

सम्झौताअनुसार १२ लाख लाइसेन्स छ महिनाभित्र छाप्ने र उच्च सुरक्षा प्रविधिसहित क्यूआर कोड प्रयोग गरिएको नयाँ कार्ड वितरण गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *