श्रेणी : BANNER
वीरगञ्ज, २९ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१९ बिन्दवासिनीमा नेकपा (एमाले) ले आयोजना गरेको वडा स्तरीय अगुवा कार्यकर्ता भेला विकास एजेन्डा र चुनावी रणनीतिमा केन्द्रित हुँदै सम्पन्न भएको छ। कार्यक्रममा पार्टी संगठन विस्तारसँगै क्षेत्रीय विकासका प्राथमिकता तय गर्ने विषयमा गम्भीर छलफल भएको देखिएको छ।

विकासका स्पष्ट योजना आवश्यक : रिमा यादव
भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले पर्सा–२ को समग्र विकासका लागि दीर्घकालीन योजना र व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको बताइन्। उनले रोजगारी सिर्जनाका लागि सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको पहुँच वृद्धि तथा कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राखिन्।
उनका अनुसार कृषि उत्पादनलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउन प्रत्येक वडामा कृषि क्लिनिक स्थापना गर्ने योजना अघि सारिएको छ। किसानलाई समयमै मलखाद र गुणस्तरीय बिउ उपलब्ध गराउने नीति लागू गर्न सके कृषिमा उल्लेखनीय सुधार आउने उनको दाबी थियो।
‘अधुरा विकास पूरा गर्ने लक्ष्य’
यादवले विगतमा थालिएका तर सम्पन्न हुन नसकेका विकास योजनालाई पूर्णता दिन आफू प्रतिबद्ध रहेको बताउँदै क्षेत्रीय समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी आवाज आवश्यक रहेको उल्लेख गरिन्। उनले मतदातासँग परिवर्तनमुखी नेतृत्वलाई समर्थन गर्न आग्रह पनि गरिन्।
नेतृत्वको सामूहिक प्रतिबद्धता
कार्यक्रममा विजय सरावागी, बिचारी यादव, संजु छतकुली, मुकेश दुबेदी लगायत नेताहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी तयारीलाई प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
यसैगरी लियाकत अली, अजय साह सहित सयौं नेता–कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन पिन्टु उपाध्याय ले गरेका थिए।

प्रतिक्रिया