काठमाडौं,२७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनः छलफल हुने भएको छ।
बिहीबार दिनभर र मध्यरातिसम्म शीतलनिवासमा भएको वार्तामा संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि आज बिहान ९ बजेबाट पुनः छलफल सुरु हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
अन्तरिम सरकार प्रमुखका रूपमा सुशीला कार्कीलाई अघि सार्नेमा दलका नेताहरू, राष्ट्रपति र जेनजी प्रतिनिधिबीच सहमति भइसकेको छ। तर, जेनजी पक्षले “संसद् विघटन नै बटमलाइन हो” भन्ने अडान राखेका छन् भने दलका नेताहरू संविधानको फ्रेमभित्रै समाधान खोज्नुपर्नेमा जोड दिइरहेका छन्।
जेनजी पक्षबाट कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल छलफलमा सहभागी थिए। कांग्रेस र माओवादी नेताहरूले कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सकिने भन्दै समर्थन जनाएका छन्। प्रचण्डले पनि यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।
कार्की स्वयं पनि जिम्मेवारी लिन तयार रहेको बताइसकेकी छन्। बिहीबार उनले राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोक सिग्देलसँग पटक–पटक भेटवार्ता गरिसकेकी छन्। संविधानविद्हरुले भने “संविधानभित्रै रहेर वैकल्पिक बाटो खोज्न सकिन्छ” भन्ने सुझाव दिएका छन्।
जेनजी आन्दोलन फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि भड्किएको हो। आन्दोलनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म ३४ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन्। संसद् भवन र सर्वोच्च अदालतमा समेत आगजनी भएपछि सेनाको पहलमा संवाद प्रक्रिया सुरु भएको हो।

    
						
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया