वीरगन्ज :

हैजालाई हौवा बनाएर व्यापार नगर्न मेयर सिंहको चेतावनी

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1297 Shares

बीरगन्ज,०९ भदौ । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हैजाको नाममा डर फैलाएर व्यापार गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। निजी अस्पतालहरूलाई लक्षित गर्दै मेयर सिंहले भने, “सरकारी अस्पताल नारायणीमा साधारण बेडमै हैजाको उपचार सम्भव हुँदा निजी अस्पतालहरूले सिधै आइसियुमा राखेर व्यापार गर्न खोज्नु गम्भीर विषय हो।”

बीरगन्जमा आयोजित हैजा नियन्त्रणसम्बन्धी अन्तरक्रियात्मक छलफलमा मेयर सिंहले हैजा नियन्त्रण स्वास्थ्य विज्ञान र सेवा समर्पणको विषय भएको तर केही निजी संस्थाहरू यसलाई कमाइको माध्यम बनाउने प्रयासमा लागेको बताए। उनले चेतावनी दिंदै भने, “हैजालाई हौवा बनाएर डर देखाउने र परीक्षणको नाममा महँगा किट बेच्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो कार्यलाई महानगरले कुनै हालतमा स्वीकार गर्ने छैन।”

सिंहले प्रभावित क्षेत्रमा औषधीजन्य सामग्री तथा सेवाको वितरणमा एकद्वार नीति लागू गरिने र सरकारले आवश्यक किट निःशुल्क उपलब्ध गराउने जानकारी पनि दिए।

कार्यक्रममा सहभागी जनस्वास्थ्य प्रशासक, चिकित्सक र सरोकारवालाहरूले हैजा उपचारका लागि अत्यावश्यक सेवा बाहेक अनावश्यक परीक्षण नगर्न सुझाव दिएका थिए। स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा। प्रविण झाले पनि एक जना हैजा संक्रमित भेटिएपछि अन्य लक्षण देखिएका बिरामीहरूमा दोहोरिएको परीक्षणभन्दा उपचारमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बीरगन्ज पुगेका छन्। मन्त्री पौडेलले नारायणी अस्पतालको स्थलगत निरीक्षण गरी हैजा नियन्त्रणका कार्यहरूको समीक्षा गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यक्रम राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *