वीरगन्ज :

पर्सामा हैजा नियन्त्रणका लागि ६ बुँदे कार्ययोजना सार्वजनिक

श्रेणी : BANNER

5 months
Pradeep Sah
1.8kViews
1641 Shares

बीरगन्ज,०९ भदौ । पर्सा जिल्लामा बढ्दो झाडापखाला र हैजाको जोखिम नियन्त्रण गर्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले ६ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहको उपस्थितिमा र समितिका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा शुक्रबार विशेष बैठक बसेको हो।

बैठकले महामारी नियन्त्रणका लागि विभिन्न निकायबीच सहकार्य गर्दै तत्काल लागू हुने खालका निर्णयहरू गरेको छ। कार्ययोजनाका मुख्य बुँदाहरू यस प्रकार छन्–

सचेतना अभियान – स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, संघ–संस्था, रेडक्रस, मिडिया र दातृ निकायको सहकार्यमा घरदैलो, माइकिङ र जनचेतनामूलक कार्यक्रम तुरुन्त सुरु गर्ने।

स्वास्थ्यकर्मीको व्यवस्थापन – आवश्यक बाहेक स्वास्थ्यकर्मीको विदा रोक्ने र आवश्यकता अनुसार स्थानीय तहबाट थप जनशक्ति खटाउने।

औषधि तथा सामग्री सुनिश्चितता – स्वास्थ्य कार्यालय, पर्साले हैजा नियन्त्रणका औषधि, परीक्षण किट र पानी शुद्धिकरणका सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने र प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्ने।

फोकल पर्सन तोक्ने – जानकारी आदानप्रदान र समन्वय सहज बनाउन छुट्टै फोकल पर्सन तोकिने।

स्रोत साधनको वितरण र अनुगमन – संघीय र प्रदेश सरकारबाट प्राप्त स्रोत साधन र जनशक्ति प्रभावकारी वितरण र अनुगमन गर्ने।

महामारी अनुसन्धान – अनुसन्धान तथा नियन्त्रण गतिविधि स्थानीय तहमार्फत सञ्चालन गर्दै प्राविधिक सहयोग प्रदेश र संघीय मन्त्रालयबाट प्राप्त गर्ने।

बैठकले सबै पक्षबीचको सहकार्य र स्रोत साधनको प्रभावकारी प्रयोगमार्फत महामारी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, हाल पर्सामा हैजासँग मिल्दोजुल्दो लक्षण देखिने बिरामीको संख्या निरन्तर बढिरहेको छ। यसलाई मध्यनजर गर्दै स्थानीय निकायदेखि आम नागरिकसम्मलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *