वीरगन्ज :

बीरगन्जमा हैजाको प्रकोप, ४२ जनामा पुष्टि, दुईको मृत्यु

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1125 Shares

बीरगन्ज,०८ भदाै । बीरगन्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ। मुर्ली टोलमा सुरु भएको संक्रमण शनिबारसम्म आइपुग्दा वडा नम्बर ११, १२, १३ र १६ मा समेत फैलिएको पुष्टि भएको छ।

महानगरको स्वास्थ्य शाखाका प्रमुख साजु साहका अनुसार हालसम्म ४२ जनामा हैजाको पुष्टि भइसकेको छ भने विभिन्न अस्पतालमा १२९ जना बिरामी उपचाररत छन्। नारायणी अस्पताल, तराई अस्पताल, वीरगञ्ज हेल्थकेयरलगायतका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको चाप तीव्र भएको छ।

शनिबारसम्म झाडापखालाका कारण दुई जनाको मृत्यु भएको पुष्टि भए पनि हैजाकै कारण हो वा होइन भन्नेबारे परीक्षण नतिजा आउन बाँकी छ। मृतकमध्ये एक जना पोखरिया–९ की महिला र अर्का वीरगञ्ज–१२ का पुरुष रहेको जनाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले पर्सामा १० वर्षपछि पहिलो पटक हैजाको प्रकोप देखिएको बताए। उनका अनुसार २८ साउनदेखि मुर्ली क्षेत्रमा झाडापखालाका बिरामी बढ्दै गएपछि परीक्षण गर्दा ‘भिब्रियो कोलेरा’ जीवाणु पाइएको हो।

महानगरको आपतकालीन अभियान

हैजाको बढ्दो संक्रमण रोक्न वीरगञ्ज महानगरपालिकाले आपतकालीन अभियान सुरु गरेको छ। शनिबार मेयर राजेशमान सिंहले विभिन्न अस्पतालका बिरामीहरूको अवस्था बुझ्दै नियन्त्रणका लागि सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्ने निर्देश दिए।

हाल २५ वटा स्वास्थ्य टोली प्रभावित क्षेत्रमा खटाइएको छ। टोलीहरूले घर–घरमै पुगेर क्लोरिन हालेर पानी पिउन, उमालेर मात्र प्रयोग गर्न, साबुनपानीले हात धुन, सरसफाइमा ध्यान दिन आग्रह गरिरहेका छन्। प्रभावित बस्तीका नालामा औषधि छर्कने काम समेत भइरहेको छ।

महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नागरिकलाई आपतकालीन जानकारी र उपचारका लागि आवश्यक समन्वय उपलब्ध गराउने व्यवस्था गरेको छ।

रोगका लक्षण र सावधानी

हैजाको लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुखाइ, आँखा गाडिनु, शरीरमा पानीको कमी, मांसपेसी दुख्ने र ज्वरो आउनु पर्छ। समयमै उपचार नपाए मृत्यु हुनसक्छ।

स्वास्थ्यकर्मीहरूले दूषित खाना र पानीबाट हैजा फैलिने भएकाले उमालेको वा क्लोरिन हालिएको पानी मात्र पिउन, सागसब्जी सफा गरी पकाएर खान, बासी खाना नखान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *