
श्रेणी : मधेस
बीरगन्ज,२९ साउन । पर्सा जिल्ला कारागारमा वर्षौंदेखि चिकित्सकको दरबन्दी खाली छ, जसका कारण कैदी–बन्दीको स्वास्थ्य उपचार ‘हेल्थ असिस्टेन्ट’को भरमा मात्र चलिरहेको छ।
कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी तोकिएको भए पनि अहिलेसम्म नियुक्ति हुन सकेको छैन। हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ले मात्र सामान्य स्वास्थ्य सेवा दिँदै आएका छन्।
गत मंगलबार बीरगन्ज महानगरपालिका–२५ का कैदी राहुल साह तुरहाको व्यायाम गर्ने क्रममा स्वास्थ्य बिग्रिएर उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएपछि कारागारमा नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको आवश्यकता पुनः चर्को रूपमा उठेको हो।
जिल्ला कारागार प्रमुख खिमराज भुसालका अनुसार, कारागार व्यवस्थापन विभागलाई दरबन्दीअनुसार मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरिसकिएको छ।
हाल बीरगन्ज कारागारमा १,३१० जना कैदी–थुनुवा छन्, जसमा ५ जना महिला कैदी, ४२ जना महिला थुनुवा र २ जना आश्रित बालिका रहेका छन्। विदेशी कैदी–थुनुवाको संख्या १९९ छ।
कारागार ऐन, २०७९ अनुसार ५०० जनाभन्दा बढी बन्दी हुने कारागारमा तोकिएको श्ययासहितको अस्पताल अनिवार्य हुनुपर्ने प्रावधान छ। तर, पर्सा कारागारमा उक्त व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन।


प्रतिक्रिया