वीरगन्ज :

बीरगन्ज कारागारका कैदीको मृत्यु प्रकरणमा ७ सदस्यीय छानबिन समिति गठन

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.7kViews
1610 Shares

बीरगन्ज, २७ साउन । बीरगन्ज कारागारका २८ वर्षीय कैदी राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुलाल रेग्मीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ।

कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि जेल सजाय भुक्तान गरिरहेका बीरगन्ज–२८ निवासी साह मंगलबार बिहान कारागारभित्र व्यायाम गर्ने क्रममा हृदयघात भएपछि तुरुन्त नारायणी अस्पताल लगिएको थियो। सुरुमा आइसियु वार्डमा बेड खाली नभएकाले चिकित्सकले अन्यत्र लैजान सुझाव दिएका थिए। तर पछि त्यही अस्पतालमै आइसियु बेडको व्यवस्था गरी उपचार थालिएको केहीबेरमै बिहान १०ः३० बजे उनको मृत्यु भयो।

मृत्युपछि आफन्तहरूले अस्पताल अगाडि टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरूले स्थानीय प्रशासन र प्रहरीले अन्य अस्पतालमा लैजान नदिएर उपचारमा ढिलाइ भएको आरोप लगाए।

विवादपछि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा मृतक पक्ष, जनप्रतिनिधि र प्रहरी अधिकारीबीच छलफल भएको थियो। छलफलले घटनाको सत्यतथ्य पत्ता लगाउन १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको हो।

समितिमा पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, बीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, मृतक पक्षका एक प्रतिनिधि, एक मानव अधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि सदस्य रहेका छन्।

सहमति अनुसार मंगलबार साँझ साहको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *