वीरगन्ज :

बारामा बालकको मृत्यु प्रकरण : उद्योगद्वारा क्षतिपूर्तिसहित रोजगारी दिने सहमति

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1463 Shares

बीरगन्ज,१८ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर ज्यान गुमाएका १३ वर्षीय सन्दीप मुखियाको घटनाले स्थानीय समुदायलाई आक्रोशित बनाएको छ।

स्थानीयका अनुसार गणपति घ्यू, नन्दन घ्यू र अशोक स्टील उद्योगबाट प्रशोधन नगरी बगाइएको रसायनयुक्त प्रदूषित पानीका कारण सन्दीपको मृत्यु भएको हो। शल्य परीक्षणले समेत मृत्युको कारण प्रदूषित पानी भएको पुष्टि गरेपछि पीडित परिवार र स्थानीयले शनिबार शवसहित मुख्य सडकमा प्रदर्शन गरेका थिए।

शवसहित प्रदर्शन गर्दै आक्रोशित स्थानीयले उद्योगको लापरवाहीले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पु¥याएको भन्दै दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीका अनुसार उद्योग प्रशासन, पीडित परिवार, जनप्रतिनिधि र स्थानीय अगुवाबीच भएको छलफलमा गणपति र नन्दन घ्यू उद्योगले संयुक्त रूपमा ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेका छन्।

साथै मृतक बालककी आमा अञ्जु मुखियालाई स्थानीय विद्यालयमा स्थायी रोजगारी दिनेसमेत सहमति भएको छ। उद्योगले संयुक्त रूपमा उनलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्, यद्यपि मासिक तलबबारे उद्योग पक्षको औपचारिक पुष्टि आउन बाँकी छ।

यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदूषित पानी बग्ने स्थानमा डोजर परिचालन गर्दै ह्युमपाइप हटाई खाल्डो पुर्ने काम थालेको छ। उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्योगहरूबाट फोहोर र रसायनयुक्त पानी ननिस्किएको भन्ने उद्योग पक्षको दाबी अस्वीकार गर्दै, पानीको दृश्य र प्रभावले नै त्यसको खण्डन गर्ने बताए।

नगरपालिकाले अब वातावरणीय मापदण्डको उल्लंघन गर्ने उद्योगहरूमाथि कडा निगरानी र कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। स्थानीयले यसअघि पनि पर्खाल भत्काएर ह्युमपाइप हटाइए पनि उद्योगहरूले पुनः जडान गरी प्रदूषित पानी बगाइरहेको आरोप लगाउँदै आएका छन्।

सन्दीपको मृत्युसँगै उठेको जनदबाबले उद्योगहरूको उत्तरदायित्व र नगरपालिकाको सक्रियता थप बढाउने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *