
श्रेणी : BANNER
बीरगन्ज्,२५ असार । खानेपानी मन्त्री प्रदीप यादवले मधेशका विभिन्न जिल्लामा चापाकल सुक्दै गएका कारण सिर्जिएको गम्भीर पानी संकट समाधानका लागि सबै तहको सहकार्य आवश्यक रहेको बताएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका मन्त्री यादवले जलवायु परिवर्तनको असरस्वरूप पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकल सुक्दै गएकाले जनजीवन असहज भएको जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू पीडित समुदायसँग सहानुभूति जनाउँदै प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरिरहेको जानकारी दिएका छन्।
“खानेपानीको तत्काल राहतस्वरूप वीरगञ्ज महानगरपालिका र पर्सा–बारा जिल्लाका विभिन्न वडाहरूमा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ पूरा भइसकेको छ,” मन्त्री यादवले जानकारी दिए। उनका अनुसार अझै पानी अभाव भइरहेका क्षेत्रलाई प्राथमिकता दिँदै राहत पु¥याउने क्रम जारी छ।
मन्त्री यादवले दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा ४ अर्ब ५० करोड रुपैयाँको लागतमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको जानकारी गराएका छन्। उनले आगामी आर्थिक वर्षदेखि यो आयोजना द्रुत गतिमा कार्यान्वयन गरिने पनि बताए।
“यो कठिन घडीमा प्रदेश र स्थानीय सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहकार्य गर्न जरुरी छ,” मन्त्री यादवले भने, “संकटको बेलामा संयमता र साझा प्रयास नै हाम्रो बल हो।”
उनको भनाइमा, प्राकृतिक विपद् रोक्न नसकिए पनि त्यसको प्रभाव घटाउन सबै पक्ष एकजुट भएर लागेमा समाधान असम्भव छैन। “हामी सबैको सहकार्यबाट यो पानी संकट पार गर्न सक्छौं,” मन्त्री यादवले दोहोर्याए।
यस अभिव्यक्तिले देशभर फैलिँदै गएको खानेपानी संकटलाई दीर्घकालीन दृष्टिकोणबाट समाधान गर्नेतर्फ सरकार गम्भीर रूपमा लागेको संकेत गरेको छ।


प्रतिक्रिया