
श्रेणी : मधेस
जनकपुर,१० जेठ । सप्तरीको मलेकपुरमा शनिबार दिउँसो ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटना हुलाकी राजमार्गमा इँटा लोड गरिएको ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा भएको हो।
पत्थरगाढाबाट राजविराजतर्फ गइरहेको स१ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मप्र ०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार तीमध्ये एकजना करिब २६–२७ वर्षका युवकको अस्पताल पुर्याउँदै गर्दा र अर्को करिब २२–२३ वर्षका युवकको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। मृतक दुवै जनाको परिचय अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
घाइते तेस्रो व्यक्तिको अवस्था गम्भीर रहेको र गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको बताइएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने मृतकको पहिचान खुलाउन प्रयास भइरहेको जानकारी दिएको छ।


प्रतिक्रिया