वीरगन्ज :

सर्लाहीमा युवक मृत फेला, परिवारको हत्या आरोप प्रेम सम्बन्धपछि बढेको तनाव

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1660 Shares

जनकपुर,०२ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरका २६ वर्षीय अरविन्दकुमार पण्डित कुम्हार उखु खेतमा मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान ईश्वरपुर नगरपालिका–८ स्थित खेतमा शव फेला परेपछि मृतकका परिवारले हत्या भएको दाबी गरेका छन्।

स्थानीयले उखु बारीमा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय केशरगन्ज र प्रहरी चौकी ईश्वरपुरको टोलीले घटनास्थल पुगेर शव मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाएको थियो। मृतकको सनाखत उनका दाजु अशोक पण्डितले बुधबार बिहान गरेका हुन्।

अरविन्दको सम्बन्ध ईश्वरपुर–७ चिरान टोलकी एक विवाहित महिलासँग प्रेमसम्बन्धमा रहेको थियो। ती महिला तीन सन्तानकी आमा हुन्। करिब एक महिना अघि उनीहरू भागेर भारतको नयाँ दिल्ली पुगेका थिए। पछि दुवै परिवारले नयाँ दिल्ली पुगेर उनीहरूलाई घर फर्काएका थिए।

मृतकका पिता उपेन्द्र पण्डित कुम्हारका अनुसार, महिलाको परिवारले त्यसयता निरन्तर धम्की दिँदै आएको थियो। “छोरा बेपत्ता हुनु अघि उनीहरू घरमै आएर गाली–गलौज गरे, मोबाइल चोरीको आरोप लगाए, धम्क्याए,” उपेन्द्रले बताए।

बेपत्ता भएको वैशाख २४ गते नै अरविन्दमाथि अन्तिमपटक धम्की आएको बताइएको छ। मंगलबार बिहान शव फेला परेको भए पनि प्रहरीका अनुसार मृत्यु तीन–चार दिनअघि नै भएको अनुमान गरिएको छ।

दाजु अशोकले भाइको टाउको, गुप्ताङ्ग र शरीरका संवेदनशील भागमा चोट देखिएको बताएका छन्। “दुबै आँखा बाहिर निस्किएको, मुख विकृत अवस्थामा थियो, गुप्ताङ्गमा गहिरो चोट थियो,” अशोकले भने।

परिवारले हत्यामा संलग्न व्यक्तिहरूको नाम इलाका प्रहरी कार्यालय केशरगन्जमा बुझाइसकेका छन्। परिवार काजकिरिया सकेपछि औपचारिक जाहेरी दिने तयारीमा छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काका अनुसार, शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी र अनुसन्धान भइरहेको छ। “परिवारको दाबी अनुसार अनुसन्धान गम्भीर रूपमा अगाडि बढाइएको छ,” उनले भने।

हत्या भएको पुष्टि वा अन्य कारणको थाहा भने पोस्टमार्टम रिपोर्टपछि मात्र हुने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *