
श्रेणी : अपराध
बीरगन्ज,१७ वैशाख । पर्सा र भारतका दुई युवालाई अमलेखगञ्जमा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बीरगन्ज–१६ का २६ वर्षीय सिद्धान्त पटेल र भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको मलाही निवासी २३ वर्षीय नितिश कुमार ठाकुर रहेका छन्।
उनीहरू कारमार्फत वीरगन्जबाट हेटौंडातर्फ लागिरहेका थिए। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले चेकपोस्टमा बीआर ०५ बीए ४८१७ नम्बरको कार रोकेर जाँच गर्दा, कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा २९,६५० पिस ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल फेला परेको थियो। बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, लागूऔषध बरामद भएपछि कारसहित चालक नितिश कुमार र सवार सिद्धान्त पटेललाई नियन्त्रणमा लिइएको छ।
दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यो घटना लागूऔषध तस्करीमा सीमावर्ती क्षेत्रहरू अझै पनि प्रयोग भइरहेका छन् भन्ने संकेत हो।


प्रतिक्रिया