वीरगन्ज :

बीरगन्जमा दाइजोको कारण विवाह भाँड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद

श्रेणी : अपराध

7 hours
Pradeep Sah
1.6kViews
1138 Shares

बीरगन्ज,१० वैशाख । एक वर्षअघि दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह तोडेका बेहुला र उनका परिवारका सदस्यहरूलाई अदालतले कैद सजाय सुनाएको छ। पर्सा जिल्ला अदालतले मंगलवार पाँचै जनालाई ६–६ महिना कैद र जनही ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

फैसला पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलाशबाट भएको हो। साथै, बेहुला पक्षले दाइजोको रूपमा लिएको ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता गर्नुपर्ने पनि अदालतले आदेश दिएको छ।

यो घटना २०८० फागुन २८ गते बीरगन्ज महानगरपालिका–२४, रामगढवामा भएको थियो। विवाहको दिन बेहुलाले सुनको सिक्री नपाएको भन्दै बेहुली पक्षसँग विवाद गरेका थिए। विवादले उग्ररूप लिएर दुबै पक्षबीच कुटपिटसम्मको अवस्था आएपछि, बेहुला उमेश साह विवाहस्थलबाट उठेर हिँडेका थिए। त्यसपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरीको टोलीले बेहुला उमेश साह (२८), उनका बुबा बच्चालाल साह गोढ (६०), दुई दाजु र भिनाजु गरी पाँच जनालाई सोही रात बेहुलीको घरबाटै पक्राउ गरेको थियो।

उनीहरूविरुद्ध विवाह सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको थियो, जसपछि केही समयपछि उनीहरू धरौटीमा छुटेका थिए। तर अब अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *