जनकपुर,२१ अफागुन । सिरहाको नवराजपुरकी किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
घटना लगत्तै फरार रहेका मण्डललाई केही समयअघि पक्राउ गरिएको मधेस प्रदेश प्रहरी स्रोतले जनाएको छ। उनलाई छिट्टै आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
गत माघ २७ गते राति शौच गर्न गएकी रिंकुमाथि स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेका थिए। पीडित किशोरी भोलिपल्ट बिहान रुँदै घर फर्किएपछि गाउँमा घटना मिलाउन पञ्चायती बसेको थियो।
वडासदस्यसहित स्थानीयको संलग्नतामा भएको पञ्चायतीले पीडक पक्षबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडितलाई प्रहरीमा उजुरी दिन रोक्ने निर्णय गरेको थियो। तर, न्याय नपाउने डर र धम्कीका कारण माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनाबारे समाचार सार्वजनिक भएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायतीमा संलग्न ५ जना गरी ८ जनाविरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान गरिरहेको छ। हालसम्म ३ जना पक्राउ परिसकेका छन् भने बाँकी प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र बनाएको छ।
प्रतिक्रिया