वीरगन्ज,१६ भदौ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वीरगञ्जस्थित सर्बोत्तम अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त (बुद्धि) लाई हस्तान्तरण गरेको हो।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा प्रशासन प्रमुख सञ्जिवकुमार गुप्तासहित चिकित्सक, कर्मचारी तथा अन्य प्रतिनिधिको उपस्थितिमा सांसद पन्तलाई चेक हस्तान्तरण गरिएको थियो।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा वर्षाजन्य विपद्का कारण ठूलो जनधनको क्षति भइरहेकाले प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत कोषमार्फत विपद् प्रभावितसम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
चेक बुझ्दै सांसद पन्तले विपद्का समयमा निजी क्षेत्र, स्वास्थ्य संस्था तथा विभिन्न संघसंस्थाले देखाएको सहयोग र सामाजिक उत्तरदायित्वले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै सर्बोत्तम अस्पताललाई सहयोगका लागि धन्यवाद दिए।
अस्पतालले स्वास्थ्य सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक सहयोगलाई निरन्तरता दिने अस्पतालको प्रतिबद्धता छ।

प्रतिक्रिया