जनकपुर,१६ भदाै । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि मधेस प्रदेशमा नेकपा संसदीय दलसँग आबद्ध प्रदेशसभा सदस्य, स्वकीय सचिव तथा कर्मचारीहरूले १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
मधेस प्रदेश नेकपा संसदीय दलको कार्यालयले बाढीपीडितका लागि आफ्नो दलमा आबद्ध प्रदेशसभा सदस्य तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।
संसदीय दलका नेता युवराज भट्टराईले प्रदेशसभाका सचिवलाई पत्र पठाउँदै सम्बन्धित सदस्य तथा कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी तोकिएको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
पत्रमा नेता भट्टराईले रसुवा जिल्लामा आएको बाढीबाट ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति भएको उल्लेख गर्दै विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको बताएका छन्।
“रसुवा जिल्लामा बाढीका कारण ठूलो मात्रामा आर्थिक, भौतिक तथा मानवीय क्षतिले सम्पूर्ण देश स्तब्ध भएको छ। यस कठिन परिस्थितिमा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो,” पत्रमा उल्लेख छ।
भट्टराईले संसदीय दलका सदस्य, स्वकीय सचिवलगायत सचिवालयमा कार्यरत अन्य कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी निर्धारित खातामा जम्मा गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
यसैबीच, रसुवाका बाढीपीडितलाई सहयोग गर्ने क्रम मधेस प्रदेशमा बढ्दै गएको छ। विपद्को समयमा प्रभावित परिवारलाई साथ दिनुपर्ने भन्दै सर्वसाधारणदेखि उद्योगी, व्यवसायी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराइरहेका छन्।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेको भन्दै मधेसबाट विभिन्न व्यक्ति तथा संस्थाले सहयोग अभियानलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया