वीरगन्ज :

महावीर पुनको पहिलो एजेन्डा: विज्ञान तथा नवप्रवर्तन ऐन

श्रेणी : प्रदेश

1 hour
Pradeep Sah
2.5kViews
1500 Shares

काठमाडौं,२८ जेठ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशमा विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संरचनागत आधार निर्माण प्रक्रिया अघि बढाइएको बताएका छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो चरणमै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको उनले जानकारी दिए। सामाजिक सञ्जालमार्फत पहिलो कार्यदिवसका निर्णय सार्वजनिक गर्दै उनले नवगठित मन्त्रालय शून्य अवस्थाबाट सुरु गर्नुपरेकाले आधारभूत संरचना निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरे।

उनका अनुसार मन्त्रालय सञ्चालनका लागि स्पष्ट कानुनी आधार आवश्यक भएकाले ऐन निर्माण प्रक्रिया तत्काल अघि बढाइनेछ। यसले मन्त्रालयको कामलाई व्यवस्थित, दिगो र परिणाममुखी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

मन्त्री पुनले विभिन्न मन्त्रालय तथा सरकारी निकायअन्तर्गत छरिएर रहेका अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी बनाउने विषयमा गहन छलफल सुरु गरिने बताएका छन्। उनले समन्वय अभावका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको भन्दै स्रोत, जनशक्ति र लगानीको अधिकतम उपयोग हुने गरी समन्वित कार्यढाँचा निर्माणमा जोड दिए।

मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, दरबन्दी संरचना र कार्यप्रवाह निर्धारणका लागि विस्तृत अध्ययन गर्ने योजना पनि अघि सारिएको छ। आवश्यक जनशक्ति र विशेषज्ञताको पहिचान गरी सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

नेपालमा विज्ञान तथा प्रविधि क्षेत्रलाई आर्थिक विकास, औद्योगिक रूपान्तरण र रोजगारी सिर्जनासँग जोड्ने बहस लामो समयदेखि हुँदै आए पनि अनुसन्धान तथा विकासमा न्यून लगानी, सहकार्यको अभाव र स्पष्ट नीतिगत संरचना नहुनु चुनौतीका रूपमा रहेका छन्।

यस पृष्ठभूमिमा स्थापना भएको मन्त्रालयले अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल रूपान्तरण र प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दीर्घकालीन नीति निर्माण गर्ने अपेक्षा गरिएको छ। मन्त्री पुनले मन्त्रालयलाई प्रशासनिक निकायमा सीमित नराखी नवप्रवर्तनमार्फत देशको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने संस्थाका रूपमा विकास गर्ने संकेत दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *