वीरगन्ज :

भारतमा नारायणी नदीबाट शव भेटिने क्रम जारी, संख्या १३ पुग्यो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1371 Shares

काठमाडौं,१६ भदाै । नेपालमा आएको भीषण बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने नारायणी (गण्डक) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव बरामद भएका छन्।

बरामद शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको प्रशासनले जनाएको छ। पहिचान हुन नसकेका शवमध्ये ६ वटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँ अभाव भएपछि थप ७ वटा शव गोरखपुरस्थित एम्समा पठाइएको छ।

नेपालतर्फ आएको बाढीमा बेपत्ता भएकाहरू नदीले बगाएर भारत पुगेको हुन सक्ने आशंका गरिएको छ। नारायणी नदीमा अझै शव भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय एसडीआरएफ र एनडीआरएफका टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।

कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार बरामद शवको सम्बन्धमा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको छ।

कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ। साथै, भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद शवबारे नेपाल सरकारलाई जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ।

प्रशासनका अनुसार शवको पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि पहिचान र आवश्यक समन्वयका आधारमा शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि सम्बन्धित परिवारको पहिचान गरी शव जिम्मा लगाउने प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, भारततर्फ पुगेका तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले नारायणी नदीमा थप शव भेटिन सक्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *