
बीरगन्ज,०९ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले बीरगन्जका दुग्धजन्य उद्योगहरूमा बजार अनुगमन गरेको छ।
अनुगमन टोलीले बीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवास्थित डेरी फ्रेश उद्योग तथा वडा नं. १७ मा रहेको फ्रेस पुजा घ्यू प्रोडक्टमा निरीक्षण गरेको हो। निरीक्षणका क्रममा उत्पादन तथा बिक्री भइरहेका दुग्धजन्य सामग्रीको लेबल, सरसफाइ, गुणस्तर तथा खाद्य मापदण्डको अवस्थाबारे अध्ययन गरिएको थियो।
अनुगमन टोलीका अनुसार फ्रेस पुजा घ्यू प्रोडक्टमा निरीक्षण गर्दा कुनै गम्भीर त्रुटि फेला परेको छैन। टोलीले उद्योग सञ्चालकलाई खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको जनाएको छ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवणकुमार साह, वाणिज्य कार्यालयका मधुरेश प्रसाद साह, उपभोक्ताका प्रतिनिधि प्रकाशकुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एसके चौरसिया तथा पत्रकार बैजु झाको सहभागिता रहेको थियो।
उद्योग सञ्चालक राजाबाबु चौरसियाले फ्रेस पुजा घ्यू विशेषगरी पूजापाठमा प्रयोग हुने र डेरी फ्रेश उद्योगद्वारा उत्पादित घ्यू खानयोग्य रहेको बताए।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै उद्योग तथा व्यवसायीलाई खाद्य ऐन र नियमअनुसार उत्पादन तथा बिक्री वितरण गर्न आग्रह गरिएको निरीक्षण अधिकृत सुनिल चौरसियाले जानकारी दिए।


प्रतिक्रिया